लक्षमा छ पाइला मेरो,रुक्ने छैन कहिले
लगाउँछु 'निसानामा', चुक्ने छैन कहिले ||
हाँसीहाँसी 'मर्न' तयार, हुने मान्छे हुँ म
दुश्मन्अघि घुँडा टेकी, झुक्ने छैन कहिले ||
'चुसेकै' छस 'मेचीकाली', तैंले युगौंदेखि
तैलेजति चुसे पनि, सुक्ने छैन कहिले ||
हिड्छस अरे मेरो भन्दै, 'बुद्ध' अझै पनि
गर्छु धैर्य तैंले जस्तो, भुक्ने छैन कहिले ||
होलान् तेरा ती आधुनिक, मेरा थोत्रा अस्त्र
तर पनि छाती थाप्छु, लुक्ने छैन कहिले ||
खोले सिस्नु खाई बाँच्छ 'रबिन' तेरा अघि
भिक्षा माग्दै दोबाटोमा, ढुक्ने छैन कहिले ||
-रबिन शर्मा चापागाईं
-जहदा - नवलपरासी
Note: Only a member of this blog may post a comment.